सगुन बस्नेत
सिन्धुपाल्चोक, असार ६ — सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा तीनदिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। मेलम्ची नगरपालिकाको सहयोग तथा नेत्रज्योति मिडिया हाउस प्रालिको आयोजनामा मेलम्चीस्थित होटल हेरिटेजमा तालिमको उद्घाटन गरिएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले उद्घाटन गर्दै पत्रकारिता सत्य, तथ्य र जिम्मेवार सूचना प्रवाहसँग जोडिएको मर्यादित तथा चुनौतीपूर्ण पेशा भएको बताए। उनले यस्ता तालिमले नयाँ पुस्तामा पत्रकारिताप्रति रुचि र सीप विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष कान्ती न्यौपानेले पत्रकारिता र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे जानकारी गराएका थिए। आयोजक नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्रबहादुर बस्नेतले डिजिटल युगमा सही सूचना प्रवाहको महत्व बढेकाले विद्यार्थीलाई पत्रकारिताको आधारभूत ज्ञान दिने उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले उत्कृष्ट तथा इच्छुक सहभागीलाई मिडिया हाउसमा रोजगारीको अवसरसमेत प्रदान गरिने जानकारी दिए।
तीन दिनसम्म सञ्चालन हुने तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोगसम्बन्धी प्रशिक्षण दिइनेछ। तालिममा माध्यमिक तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिममा रामप्रसाद दाहाल, कान्ती न्यौपाने, युवराज पुरी, निशा देउजा र आइसिं तामाङले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन्।