काठमाडौँ । लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पेसागत तथा टे«ड युनियन अधिकारको रक्षाका लागि ऐक्यबद्धता र्याली सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घसमेतको शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को ब्यानरमा २०८३ असार ५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
माइतीघर मण्डलादेखि सुरु भएको उक्त कार्यक्रम बबरमहलमा पुगेर सभामा परिणत भएको थियो ।
पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालको सहजीकरणमा अगाडि बढेको उक्त कार्यक्रममा महासङ्घकी अध्यक्ष निर्मला शर्मा, नेपाल इन्जिनियर्स एसोसियसनका उपाध्यक्ष प्रकाश केसी, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी, नेपाल चिकित्सक सङ्घका अध्यक्ष बद्रि रिजाल, नेपाल वार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, सम्पादक तथा पत्रकारहरूको तर्फबाट कनकमणि दीक्षित, त्रिवि प्राध्यापक सङ्घका बसन्त ढकाल, पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले २०६२–६३ सालको आन्दोलनमा सक्रिय पेसागत सङ्गठनहरू अहिले पुन: सक्रिय हुनुपर्ने अवस्था उत्पन्न भएको बताउँदै अहिले सरकार मात्रै परिवर्तन भएको तर व्यवस्था परिवर्तन नभएको हेक्का राख्न सरकारलाई चेतावनी दिनुभयो ।
सरकारले लोकतन्त्र र विधिको शासनको सम्मान नगरे जस्तोसुकै आन्दोलन उठाउन पनि आफूहरू तयार रहेको वक्ताहरूको उद्घोष थियो ।
कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घको तर्फबाट महासचिव प्रकाश थापामगर, केन्द्रीय सल्लाहकार तथा पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य वैरागी जेठा, बागमती प्रदेश सदस्य तथा पत्रकार महासङ्घ काठमाडौँका सदस्य गोविन्दकुमार शर्मा, काठमाडौँ जिल्ला समितिका सचिव तथा महासङ्घकै काठमाडौँ जिल्ला सदस्य लक्ष्मण बेलबासेलगायतको उपस्थिति थियो ।
