४ असार, जनकपुरधाम । मधेश प्रदेशमा पछिल्ला पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार कुल २१ हजार ९८९ सडक दुर्घटना भएका छन्, जसमा ४२ हजार ६३७ सवारीसाधन संलग्न थिए ।
दुर्घटनामा २७४८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यसैगरी १० हजार ८६६ जना गम्भीर घाइते तथा ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् ।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा भएका छन् । धनुषामा पाँच वर्षको अवधिमा ४८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ भने २ हजार ९४३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ । बारामा ४ हजार ४६८ दुर्घटना हुँदा ४१६ जनाको मृत्यु तथा ७८१ जना गम्भीर घाइते भएका छन् । त्यस्तै, सर्लाहीमा ४ हजार ७२ दुर्घटना हुँदा ३३६ जनाको मृत्यु र २ हजार १३२ जना गम्भीर घाइते भएका छन् ।
सिरहामा ३ हजार ५२६ दुर्घटना हुँदा ३७९ जनाको मृत्यु र १ हजार ७७८ जना गम्भीर घाइते भएका छन् । सप्तरीमा ३ हजार ७२० दुर्घटना हुँदा ३८३ जनाको मृत्यु र १ हजार २०८ जना गम्भीर घाइते भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै, रौतहटमा ३ हजार ४०३ दुर्घटना हुँदा ३०० जनाको मृत्यु र ७६९ जना गम्भीर घाइते भएका छन् । महोत्तरीमा ३ हजार ९१ दुर्घटना हुँदा २९८ जनाको मृत्यु र ८९० जना गम्भीर घाइते भएका छन् ।
यो अवधिमा सबैभन्दा कम दुर्घटना पर्सा जिल्लामा भएको देखिएको छ । त्यहाँ २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु र ३६५ जना गम्भीर घाइते भएका छन् ।
प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीका अनुसार मधेश जनसंख्या ठूलो प्रदेश भएकाले तथा सवारीसाधन र सडक पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण रहेको छ ।
उनले ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय र सचेतनामूलक कार्यक्रममार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । साथै, नीति निर्माणमा ट्राफिक प्रहरीको आवाज पर्याप्त रूपमा नपुगेको र बजेट पनि कमजोर रहेकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।