नेपालगञ्ज, असार १, २०८३ | बर्दिया जिल्लाको गेरुवा गाउँपालिका मा सञ्चालन गरिएको निःशुल्क लोकसेवा तयारी कक्षाको समापन गरिएको छ।
गेरुवा गाउँपालिकाको सहयोग तथा बास नेपाल को सहजीकरणमा लक्षित वर्ग उत्थान कार्यक्रमअन्तर्गत प्रशासन सेवातर्फ चौथो, पाँचौँ वा सो सरह तहका लागि सञ्चालन गरिएको लोकसेवा तयारी कक्षाको आइतबार समापन गरिएको हो।
३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी ले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई सुझाव दिए। स्थानीय युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न तथा सरकारी सेवामा प्रवेश गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सहभागीहरूलाई तालिमबाट सिकेका विषयको अधिकतम उपयोग गर्न आग्रह गरे।
त्यसैगरी कार्यक्रममा बोल्दै नमस्कार शाह ले स्थानीय सरकारले आफ्ना युवाहरूका लागि स्थानीय स्तरमै लोकसेवा तयारी कक्षाको व्यवस्था गरेकोमा धन्यवाद व्यक्त गरे। गाउँबाट विभिन्न सहरमा गएर लोकसेवाको तयारी गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै आफ्नै गाउँठाउँमा अध्ययन गर्ने अवसर प्राप्त हुनु सहभागीहरूका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले उक्त अवसरको सही सदुपयोग गर्न सुझाव दिए।
सहभागी विद्यार्थीहरूको तर्फबाट प्रतिक्रिया व्यक्त गर्दै सनिश थारु ले आफ्नै गाउँमा अध्ययन गर्ने वातावरण उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरे। तालिमबाट लोकसेवा तयारीका लागि आवश्यक ज्ञान, सीप तथा महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै उनले खुशी व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूलाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षद्वारा प्रमाणपत्र र लोकसेवा सम्बन्धी पुस्तकहरू वितरण गरिएको थियो।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक विकास संयोजक तथा वडा नं. ३ का अध्यक्ष निर्मल कुमार चौधरी, बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, गाउँपालिकाका लेखा अधिकृत सुदीप सिग्देल लगायतको सहभागिता रहेको थियो।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रमा पुन मगर ले गरेकी थिइन्।

