म्याग्दी, २ असार । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको लुप्राङ मा अङ्गुरखेतीको परीक्षण सफल भएको छ।
समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङस्थित श्रीहरी कृषि तथा पशुपन्छी फार्मकी सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गर्नुभएको हो।
“चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिक टनेलभित्र रोपिएका अङ्गुरका दुई बोटले उत्पादन दिन थालेका छन्,” उहाँले भन्नुभयो, “गत वर्ष प्रतिकिलो रु ४५० देखि ५०० का दरले बिक्री गर्दा रु ३५ हजार आम्दानी भएको थियो। यस वर्ष दाना बढी लागेकाले उत्पादन अझ बढ्ने अनुमान छ।”
अङ्गुरका दाना पूर्ण रूपमा पाक्ने समयसम्म नझरी बोटमै टिकेमा कृषि प्राविधिकसँग परामर्श गरेर खेती विस्तार गर्ने योजना रहेको रेग्मीले बताउनुभयो। दुई छोरालाई पढाउन पाँच वर्ष बागलुङ बजारमा बसेपछि गाउँ फर्केर उहाँले अङ्गुर, गोलभेडा र सुन्तलाखेतीसँगै बाख्रापालन सुरु गर्नुभएको थियो।
“कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढेका दुई छोरालाई विद्यालय टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा गरेर कक्षा १० सम्म पढाएँ,” रेग्मीले भन्नुभयो, “उनीहरू उच्च शिक्षाका लागि काठमाडौँ गएपछि गाउँ फर्किएर धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा आफन्त र छिमेकीहरूले असफल हुने काम नगर्न सुझाव दिएका थिए।”
स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भरता र आयआर्जनतर्फ अग्रसर हुनुपर्छ भन्ने सोचबाट प्रेरित रेग्मीलाई स्थानीय विद्यालयमा शिक्षक रहेका श्रीमान्ले बिहान, साँझ र बिदाका दिन बगैँचाको काममा साथ दिँदै आउनुभएको छ। उहाँको बगैँचामा हाल ७५० वटा सुन्तला र कागतीका बोट छन्। गत वर्ष सुन्तला बिक्रीबाट मात्रै रु ४ लाख ८० हजार आम्दानी भएको उहाँले बताउनुभयो।
प्लास्टिक टनेलभित्र अङ्गुरसँगै टमाटरखेती पनि गरिएको छ भने हुर्कँदै गरेको सुन्तला बगैँचाभित्र सिमीखेती गरिएको छ। अङ्गुर गाउँमै बिक्री हुने गरेको छ भने सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ।
कृषि फार्मबाट वार्षिक रु १० देखि १२ लाखसम्म बचत हुने गरेको रेग्मीले बताउनुभयो। उहाँको सफलताबाट प्रेरित भएर विगतमा सुन्तलाखेती गर्दा आलोचना गर्नेहरू पनि अहिले दङ्ग परेका छन्।
रेग्मीकै सिको गर्दै लुप्राङका अधिकांश किसानले धान, मकै र कोदोको विकल्पका रूपमा सुन्तलाखेती विस्तार गरेका छन्। उहाँले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका तथा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत प्रविधि हस्तान्तरण, पूर्वाधार निर्माण, सीपमूलक तालिम, व्यावसायिक योजना निर्माण, भ्रमण तथा प्रदर्शनीमा सहभागी हुने अवसर प्राप्त गर्नुभएको छ।
नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिउपज बजारसम्म पुर्याउन समस्या भएको किसान रेग्मीको गुनासो छ। बाँदरको समस्या पनि खेतीपातीका लागि मुख्य चुनौती बनेको छ। यसै वर्ष जेठ १२ गते परेको असिनाले खाद्यान्नबाली, सुन्तला तथा तरकारीखेतीमा क्षति पुर्याएको किसानहरूले बताएका छन्।