काठमाडौँ, ३० जेठ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।