करिब एक दशक खाडी मुलुकमा रोजगारी गरेपछि स्वदेश फर्किएका ढुङ्गानाले विसं २०७२ मा ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरी पशुपालन व्यवसाय सुरु गर्नुभएको थियो। प्रारम्भमा एक–एक वटा गाई र भैँसीबाट सुरु गरिएको व्यवसाय अहिले जिल्लाकै नमुना पशुपालन फार्मका रूपमा विकसित भएको छ।
हाल उहाँको फार्ममा ४५ वटा दुहुना माउसहित ५० वटा गाईभैँसी रहेका छन्। उन्नत जातका मुर्रा भैँसी तथा होल्स्टिन र जर्सी गाई पाल्दै आउनुभएका ढुङ्गानाले दैनिक करिब ३०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ। दैनिक रूपमा करिब रु ३५ हजार बराबरको दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो।
“दश वर्षभन्दा बढी समय विदेशमा पसिना बगाएँ। आफ्नै गाउँ फर्किएर कृषि र पशुपालनबाट भविष्य निर्माण गर्ने लक्ष्यका साथ वैदेशिक रोजगारी त्यागेको थिएँ। आज त्यही निर्णयले सफलता दिलाएको छ। यो पेसाबाट म निकै खुसी र सन्तुष्ट छु,” ढुङ्गानाले भन्नुभयो।
पशुपालन व्यवसायले उहाँलाई आत्मनिर्भर मात्र बनाएको छैन, अन्य पाँच जनाका लागि रोजगारीको अवसर पनि सिर्जना गरेको छ। फार्ममा तीन जना आवासीय रूपमा कार्यरत छन् भने दुई जना दैनिक रूपमा काममा खटिने गरेका छन्।
बिहानदेखि बेलुकासम्म गाईभैँसीको स्याहार, घाँसपात व्यवस्थापन र दूध उत्पादनमा व्यस्त रहने ढुङ्गाना स्वदेशमै रहेका सम्भावनाको उपयोग गर्न सके युवाहरूले सफल भविष्य निर्माण गर्न सक्ने बताउनुहुन्छ।
उहाँको फार्ममा उत्पादन हुने सम्पूर्ण दूध बेनीस्थित धौलागिरि डेरी उद्योगमा खपत हुने गरेको छ। बजार नजिकै भएकाले मोटरसाइकलमार्फत दूध ढुवानी गर्ने गरिएको छ। डेरी उद्योगले प्रतिलिटर रु १२० का दरले दूध खरिद गर्दै आएको छ। नियमित उत्पादन र सुनिश्चित बजार भएकाले दूध बिक्रीका लागि थप बजार खोज्नुपर्ने समस्या नरहेको उहाँको भनाइ छ।
पुख्र्यौली जग्गामा सञ्चालन गरिएको फार्मबाट भएको आम्दानीकै आधारमा थप जग्गा खरिद गरी व्यवसाय विस्तार गरिएको छ। हालसम्म पूर्वाधार निर्माण तथा गाईभैँसी खरिदमा करिब रु दुई करोड ५० लाखभन्दा बढी लगानी भइसकेको छ।
जिल्लामै ठूलो र नमुना पशुपालन फार्मका रूपमा विकास भइरहेको यस फार्मको अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक तथा सरोकारवाला आउने गरेका छन्। सफल पशुपालकका रूपमा परिचित ढुङ्गानाले जिल्ला तथा प्रदेशस्तरका विभिन्न पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ।
विसं २०८० मा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’लाई उत्कृष्ट फार्मका रूपमा सम्मान गरेको थियो। स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका निकायबाट प्राप्त सहयोगले व्यवसाय विस्तारमा थप हौसला मिलेको ढुङ्गानाको भनाइ छ।
दूध उत्पादनसँगै फार्मबाट उत्पादित गोबर मल बिक्रीबाट पनि अतिरिक्त आम्दानी हुने गरेको छ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म नगरपालिका तथा जिल्लाकै उत्कृष्ट फार्ममध्ये एक रहेको बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले पशुपालक कृषकलाई प्राविधिक सेवा, औषधि उपचार तथा उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत सहयोग गर्दै आएको छ।