काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। विपक्षी दलहरूले उक्त भनाइ पुष्टि गर्न तथ्य प्रस्तुत गर्न वा माफी माग्न माग गरेका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतीय भूमि मिचेको दाबी नगरी सीमा विवादबारे छलफलका क्रममा आएको विषयमा आफू अचम्ममा परेको कुरा मात्र व्यक्त गरेको बताएका छन्। परराष्ट्र मन्त्रालयले पनि सीमा सम्बन्धी विषय समाधानका लागि दुई देशबीचका संयन्त्रमार्फत काम भइरहेको स्पष्ट पारेको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र सच्याउन माग गरे पनि सभामुख डीपी अर्यालले अहिलेसम्म कुनै रुलिङ गरेका छैनन्। यस विषयमा सरकार र सभामुख दुवै प्रधानमन्त्रीको बचाउमा लागेको भन्दै विपक्षी र केही संसदीय विश्लेषकहरूले आलोचना गरेका छन्।