सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई पदबाट हटाउन पार्टीभित्रै अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
सांसद दिवान सिंह विष्टको नेतृत्वमा ९ जना सांसदहरूले संसदीय दलको कार्यालयमा शाहविरुद्ध प्रस्ताव दर्ता गराएका हुन् ।
सुदूरपश्चिममा कांग्रेसका कुल १८ सांसदमध्ये एक जना (प्रकाश देउवा) अमेरिकामा रहेकाले हाल कायम १७ जनामध्ये ९ जना (बहुमत) दलको नेता फेर्ने पक्षमा उभिएका छन् ।
असन्तुष्ट पक्षले शाहको राजीनामा माग्दै उनको ठाउँमा सांसद दिवान सिंह विष्टलाई नयाँ दल नेता बनाउनुपर्ने माग राखेका छन्।
मुख्यमन्त्री शाह कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। यसअघि बागमती प्रदेशमा पनि यसै गरी संसदीय दलको नेता परिवर्तन गरिएको उदाहरण छ ।
बहुमत सांसदहरू विपक्षमा उभिएकाले मुख्यमन्त्री शाहमाथि दलको नेता र मुख्यमन्त्री पद दुवै छोड्न दबाब बढेको छ।