काठमाडौं, असार १६ । विभिन्न महिला संगठनहरूले प्रधानमन्त्रीले संघीय संसदको बैठकमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको आघातका रूपमा व्याख्या गरेका छन् ।
महिला संगठनहरूको भनाइमा नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतासम्बन्धी विषयमा प्रधानमन्त्रीले अझ जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत हुनुपर्ने थियो। उनीहरूले राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषयमा बोल्दा जनभावनाको सम्मान गर्नुपर्ने र कुनै पनि प्रकारको भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिन नहुने बताएका छन् ।
विज्ञप्तिमा सम्पूर्ण देशभक्त र राष्ट्रप्रेमी नागरिकहरूलाई राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि एकताबद्ध हुन समेत आह्वान गरिएको छ । साथै प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिप्रति गम्भीर समीक्षा गर्दै भविष्यमा यस्ता विवादास्पद टिप्पणी नगर्न चेतावनीसमेत दिइएको छ ।
यो संयुक्त विज्ञप्तिमा अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संगठन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जनवादी महिला समाज नेपाल, क्रान्तिकारी समाजवादी महिला संगठन नेपाल लगायतका विभिन्न महिला संगठनका पदाधिकारीहरूको हस्ताक्षर रहेको छ ।


