काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाले लुम्बिनी प्रदेशका धेरै महिलामा पाठेघरको क्यान्सर भएको दाबी गर्दै त्यसको उपचारार्थ बजेट छुट्याउन माग गर्नुभएको छ ।
२०८३ जेठ ९ गते शनिबार विनियोजन विधेयक–२०८३ को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो पार्टीको धारणा राख्दै उहाँले सो माग गर्नुभएको हो ।
‘स्वास्थ्य संस्थाहरूले मुटु, मृगौला, पाठेघर आदिको परीक्षण गर्दा ८५ प्रतिशत महिलामा पाठेघरको क्यान्सर देखिएको छ’ शून्य समयमा मन्तव्य राख्दै उहाँले भन्नुभयो– ‘पाठेघरको क्यान्सरको उपचारका लागि म यसै बजेटमा रकम छुट्याउन माग गर्दछु ।’
त्यस्तै उहाँले सामाजिक विकास मन्त्रालयअन्तर्गत निर्माणाधिन धेरै भवनहरू अधुरो रहेको बताउँदै त्यसको पूर्णताका लागि पनि बजेट छुट्याउन माग गर्नुभयो ।
एवम् प्रकारले बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा सरकारले सांसदसँग छलफल नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।