काठमाडौं । पूर्वराजदूत तथा अर्थ–कूटनीति विज्ञ डा. शंकर शर्माले नेपाल–भारत सम्बन्धका जटिल विषय समाधान गर्न ‘ईपीजी प्रतिवेदन’ मात्र कुरेर बस्न नहुने बताएका छन्। अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले सीमा विवाद, पञ्चेश्वर परियोजना, हवाई रुट तथा आर्थिक कूटनीतिजस्ता विषय राजनीतिक तहबाटै समाधान गर्नुपर्ने धारणा राखेका हुन्।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतले आफ्नै भूमि झैं व्यवहार गरेको टिप्पणी गर्दै नेपालले ऐतिहासिक दस्तावेज र सुगौली सन्धिका आधारमा आफ्नो दाबी बलियो बनाउनुपर्ने बताए। सीमा विवाद समाधानका लागि वार्ता आवश्यक भए पनि अझै औपचारिक संवाद अघि बढ्न नसकेको उनको भनाइ छ।
ईपीजी प्रतिवेदनबारे बोल्दै उनले भारतमा १९५० को सन्धि र खुला सीमासम्बन्धी विषयलाई लिएर ‘प्यान्डोराज बक्स’ खुल्ने आशंका रहेको बताए । यद्यपि, नेपाल–भारत सम्बन्धका अन्य समस्या समाधान गर्न प्रतिवेदन मात्र पर्खेर बस्न नहुने उनको धारणा थियो ।
आर्थिक कूटनीतिमा उनले पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि प्रशोधन तथा आयुर्वेदिक उद्योगमा केन्द्रित दीर्घकालीन योजना आवश्यक रहेको बताए। साथै, सुशासन, डिजिटाइजेसन र संस्थागत सुधारमा वर्तमान सरकारका केही संकेत सकारात्मक देखिएको पनि उनले उल्लेख गरे।