तानसेन । राष्ट्रिय जनमोर्चा पाल्पाको आयोजनामा ‘वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८३ जेठ ३ गते आइतबार जिल्ला सदरमुकाम तानसेनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै नेता आचार्यले संविधान संशोधनको एउटा महत्त्वपूर्ण विषय सङ्घीयता रहेको दाबी गर्नुभयो ।
‘राष्ट्रिय जनमोर्चाको संविधान संशोधनको सन्दर्भमा अन्य धेरै विषय छन्’ उहाँले भन्नुभयो– ‘त्यसमध्ये सङ्घीयता महत्त्वपूर्ण विषय हो । यो गल्ती सच्याउने हो भने देशले कैयौँ सुधार महसुस गर्नेछ ।’
उहाँले सङ्घीयता खारेज गर्न राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको खतरा कम हुनुका साथै शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गराउन सकिने बताउनुभयो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सचिव सोमकुमार कार्की, संविधानसभा सदस्य लीला सोमै, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, पूर्व सांसद यादवबहादुर रायमाझी, नेपाली कङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपाने, नेपाली कम्युनिस्ट पार्टी पाल्पाका सचिव जगन्नाथ नेपाल, नेकपा (माओवादी) पाल्पाका सेक्रेटरी मीनबहादुर आले, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख सन्तोष खनाल, बुद्धिजीवी तथा इतिहासविद निर्मल श्रेष्ठ, बुद्धिजीवी मथुरा ढकाल, सामाजिक अभियन्ता डुलबहादुर कुँवरलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीले, सञ्चालन सचिव वीरेन्द्र मिदुनले र स्वागत मन्तव्य नरमती सिँजालीले राख्नुभएको थियो ।
