जुमानसिंह केसी, खलङ्गा ।
प्युठान राष्ट्रिय जनमोर्चाले समिति प्युठानको आयोजनामा ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम प्युठानको पुण्यखोलामा सम्पन्न भएको छ ।
कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको उपस्थितिमा २०८३ जेठ ३ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै कार्यवाहक अध्यक्ष नेपालीले नेपालमा विदेशी नागरिकको सङ्ख्या बढ्दै गएकोतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
त्यस क्रममा देशमा नेपालीहरूलाई नै अल्पमतमा पार्ने योजनाबद्ध खेल भइरहेको धारणा पनि राख्नुभयो ।
नेपालीले सङ्घीयता नेपालमा भित्राउनुको मुख्य उद्देश्य देश टुक्राउउने रहेको भन्दै आम नेपाली जनता यसप्रति सचेत हुन आग्रह गर्नुभयो ।
उहाँले राष्ट्र र राष्ट्रियताको सवालमा, गणतन्त्र र संविधानका मूल मर्मलाई जोगाउन सबै पार्टीहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै राजमो केन्द्रीय सदस्य कृष्ण खड्काले वर्तमान सरकारलाई हेर्दा देश अत्यन्तै अप्ठ्यारो स्थितिबाट अगाडि बढेको भन्दै सबै सतर्क हुन आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का प्युठानका अध्यक्ष विजयविराज विष्टले नेपालका ठुला पार्टीहरू कङ्ग्रेस, एमालेको कारण गणतन्त्र स्थापना भएको भए पनि जनतामा सही सुशासन र जवाफदेहिता नहुनुको कारण अहिलेको अवस्था आएको बताउँदै अब दलहरू सच्चिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
नेपाली कङ्ग्रेस प्युठानका सभापति विष्णुकुमार गिरीले कार्यक्रममा बोल्दै हाम्रा दलका कतिपय व्यवहारका कारण आमजनतामा निराशा पैदा भएको, भ्रष्टाचार सुशासनमा समस्याका कारण हालको अवस्था आएको बताउँदै सङ्घीयतालाई नेपाल सुहाउँदो बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिजीले नेपालमा कुनै पनि हालतमा सङ्घीयता ठिक नभएको भन्दै यो विदेशीले बोकाएको एजेन्डा भएको भन्दै यसलाई खारेजीको विकल्प नभएको बताउनुभयो ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य डा. शिवराज पण्डितले नेपालको संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सङ्घीयताको विषयलाई समावेश गरिँदा आर्थिक सङ्कट उत्पन्न भएको भन्दै शासकीय स्वरूपबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो
कार्यक्रममा बार एसोसिएसन प्युठानका पूर्व अध्यक्ष विदुर मल्ल र मेघराज भट्टले पनि आआफ्नो भनाइ राख्नुभएको थियो ।
प्रमुख अतिथि नेपालीले अवधारणापत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षता तथा राजमो नेता अमरध्वज रानाको सञ्चालनमा अघि बढेको थियो ।
कार्यक्रममा राजमो नेता सुरेश थापालगायतका नेताकार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।


