काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) लुम्बिनी प्रदेश समितिले सुकुम्बासी समस्या समाधानका लागि संयुक्त सङ्घर्ष समिति गठनका लागि पहल गर्ने भएको छ ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको उपस्थितिमा २०८३ वैशाख २८ गते सोमबार कपिलवस्तुमा बसेको प्रदेश समितिको बैठकले सो निर्णय गरेको हो ।
सुकुम्बासीको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्दै बैठकले संयुक्त सुकुम्बासी सङ्घर्ष समिति निर्माण गरेर आन्दोलन सञ्चालनका लागि पहल गर्ने निर्णय भएको प्रदेश समितिका अध्यक्ष शिव पौडेलले बताउनुभयो ।
लुम्बिनी प्रदेशअन्तर्गतका सबै जिल्लामा अप्फाले सुकुम्बासीका लागि संयुक्त सङ्घर्ष उठानका लागि पहल गरिने पनि उहाँले जानकारी दिनुभयो ।
‘भूमि आयोगमार्फत सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रिया चलिरहेकै बेला गैरकानुनी, तानाशाही र फासिवादी तरिकाले काठमाडौँलगायत देशैभरि डोजर आतङ्क मच्याइएको छ’ बैठकको निर्णय उद्धृत गर्दै पौडेले युगदर्शनलाई बताउनुभयो ।
वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूको व्यवस्थापन र गैरसुकुम्बासीलाई कानुनी रूपमा व्यवस्थापन गरिनुपर्ने अप्फा लुम्बिनीको तर्क छ ।