प्युठान, मल्लरानी । राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तिलक जिसी यतिबेला मल्लरानी गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानमा सक्रिय रूपमा जुटिरहनुभएको छ । चुनावी अभियान अन्तर्गत उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिइरहनुभएको छ ।
घरदैलो अभियानसँगै आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उम्मेद्वार जिसीले मल्लरानीको समग्र विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धिदेखि आधारभूत सेवा सुधारसम्मका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिसीले चुनाव जनताको अधिकार र भविष्यसँग जोडिएको विषय भएकाले सचेत र विचारपूर्ण निर्णय गर्न मतदातालाई आग्रह गर्नुभयो ।
भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले गाउँ–गाउँसम्म संगठन सुदृढ गर्दै जनताका मुद्दालाई चुनावी अभियानको मुख्य एजेण्डा बनाउने धारणा राखेका थिए ।
उनीहरूले तिलक जिसीलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
स्थानीय स्तरमा जनसम्पर्कलाई तीव्र बनाउँदै राजमोले मल्लरानी क्षेत्रमा आफ्नो चुनावी गतिविधि थप विस्तार गरिरहेको जनाएको छ ।