काठमाडौं । राजधानीको मण्डिखाटारस्थित बालेन शाहको घरमा चोरी भएको छ।
काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा शुक्रबार चोरी भएको हो।
बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए।
हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्।
अरु सामान पनि चोरी भएको–नभएको भन्नेबारे थप खुलाइएको छैन ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।