महेश रिजाल, देउखुरी ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सङ्घीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनसमूहलाई मर्ज गर्न खोज्नु वातावरण विरोधी कदम हुने बताउनुभएको छ ।
दाङ–देउखुरीको गढवा गाउँपालिका–१ बड्हरामा रहेको सामुदायिक वन समूहद्वारा सञ्चालित गोबरडिहा स:मिल तथा फर्निचर उद्योग प्रालिको तेह्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
२०८१ पुस २३ गते बुधबार आयोजित कार्यक्रममा उहाँले सामुदायिक वनसमूहलाई जबर्जस्ती मर्ज गरेर महिला, आदिवासी, जनजाति, दलित समुदायको नेतृत्व क्षमता कमजोर गराउने कार्य गरेको बताउनुभयो ।
कुनै पनि हालतमा सामुदायिक वनसमूह मर्ज स्वीकार्य नहुने दाबी गर्नुभयो ।
उहाँले सामुदायिक वनसमूह स्थानीय कला, संस्कृति, पहिचान र रीतिरिवाज रहेको बताउँदै सामुदायिक वनसमूहलाई मर्च गरेर उपभोक्तालाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो ।
उद्योगका अध्यक्ष नवराज शर्माको अध्यक्षता एवम् महासङ्घ नेपालका सङ्घीय अध्यक्ष भण्डारीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन उद्योगका अध्यक्ष शर्माले र आर्थिक प्रतिवेदन उद्योगका कोषाध्यक्ष चन्द्र पुरीले प्रस्तुत गर्नु भएको थियो ।
उद्योगका उपाध्यक्ष हरि सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, गढवा गाउँपालिका–१ नं. वडाअध्यक्ष बाबुराम अधिकारी, नागरिक सामाज गढवाका अध्यक्ष खगेश्वर शर्मा, जनशक्ति सामुदायिक वनसमूहका अध्यक्षका खुमबहादुर गाहा, बागदुला दमार सामुदायिक वनसमूहका अध्यक्ष चिसापानी सामुदायिक वनसमूहका अध्यक्ष पदम गिरी, गोबरडिहा सामुदायिक वनसमूहका अध्यक्ष शिवप्रसाद यादव, ज्येष्ठ सदस्य दिलबहादुर महतारा, सामुदायिक वन महासङ्घका दाङ जिल्ला सदस्य विष्णुमाया बसेललगायतका वक्ताले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन उद्योगका सचिव चित्रबहादुर एमसीले गर्नुभएको थियो ।
२०६८ माघ ९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवतदर्ता भई २०७० सालमा सो उद्योग सञ्चालनमा आएको थियो । उद्योगमा साविक गोबरडिहा गाविसकाका १३ ओटा सामुदायिक वनसमूह आबद्ध छन् । उद्योगले हाल पाँच जनालाई पूर्णकालीन रोजगारी प्रदान गरेको छ । उद्योगले काठचिरान र उपभोक्ताको मागअनुसार ढोकाझ्याल, चौकस र दराज, पलङ, टेबुल, कुर्सी, सोफासेटलगायतका फर्निचर निर्माण गर्दै आइरहेको छ ।
