काठमाडौं । काठमाडौंमा उत्पादित रायो सागमा विषादी भेटिएकाले उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ ।
कालीमाटी बजारमा मङ्गलबारका दिन रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका पसलमा तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो ।
सरकारले अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।