प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
काठमाडौँ बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले मिडियाको भूमिकाले गर्दा स्थानीय विकासमा सहयोग पुगेको स्पष्ट पार्नुभएको छ ।
२०८२ पुस ५ गते शनिबार बिहान आयोजित चौथो बुढानीलकण्ठ संवादमा बोल्दै उहाँले सो तथ्य स्पष्ट पार्नुभएको हो ।
‘सशक्त स्थानीय मिडिया, समृद्ध नगरपालिका (स्थानीय विकासमा मिडियाको प्रभावकारिता)’ शीर्षकको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो तथ्य स्वीकार गर्नुभएको हो ।

‘मिडियाले उठाएका विषय नगरपालिकामा छलफलका एजेन्डा बनेका छन्’ उहाँले भन्नुभयो– ‘उदाहरणका लागि उकेरा डट कमले न्युज लेखेपछि नगर अस्पतालको पुरानो टेन्डर खारेज गरेर नयाँ टेन्डर गरिएको थियो ।’
उहाँले मिडियाको खबरदारीका कारणले स्थानीय तहको लडखडाएका कतिपय पाइलालाई सही ठाउँमा आउने गरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो– ‘मिडियाको खबरदारीले हामीलाई सकारात्मक ऊर्जा नै दिन्छ ।’

कोभिडकालको स्मरण गर्दै अध्यक्ष भट्टराईले त्यति बेला मिडिया सामग्रीकै कारणले देशमा स्थानीय तह आवश्यक छ भन्ने आम जनतामा सकारात्मक सन्देश गएको बताउनुभयो ।
कार्यक्रमका विषयवस्तुमा आफ्ना धारणा राख्दै उहाँले स्थानीय मिडियालाई प्रवद्र्धन गर्नु नगरपालिकाको प्राथमिकताभित्र परेको पनि स्पष्ट पार्नुभयो ।
यस सन्दर्भमा उहाँले आफूहरू निर्वाचित भएलगत्तै स्थानीय मिडियाको प्रवद्र्धनबारे अर्थात् स्थानीय सञ्चार नीतिमार्फत प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्नुभयो ।

उहाँले प्रत्येक परियोजनाको न्यूनतम एक प्रतिशत मिडियामा लगानी गर्दा परियोजनाको रेकर्ड, खबरदारीसँगै स्थानीय विकासमा सकारात्मक सन्देश जाने धारणासमेत राख्नुभयो ।
सेरिन नेटवर्कका अध्यक्ष रोहन न्यौपानेको सहजीकरणमा अघि बढेको उक्त कार्यक्रममा विभिन्न विषयमाथि केन्द्रित रहेर नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, लेखक तथा विश्लेषक सुदर्शन आचार्य र नेपालफेस डट कमका सम्पादक माधव पौडेलले पनि फरक फरक धारणा राख्नुभएको थियो ।

कार्यक्रममा फ्लोरबाट बसन्त रिजाल, शम्भु पौडेल, प्रकाश थापामगर, विष्णु निश्चल, सन्तोष भण्डारी, गोकुल खतिवडालगायतले पूरक जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा अतिथिलाई वडा नं. १० का वडासदस्य चन्द्रमान श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । 