काठमाडौँ । अमेरिकाले ७५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।
अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई बिहीबार दिउँसो चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो ।
ट्रम्प राष्ट्रपति चयन भएसँगै आप्रवासी कडाइ गर्ने घोषणा गरेका थिए । अमेरिकी प्रशासनले एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार बढीलाई देश निकाला गर्ने जनाएको थियो ।
डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष छन् । उनीहरू अधिकांश तल्लोबाटो (अवैध बाटो) हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।
डिपोर्ट हुनेमा २ जना भिजिट भिसामा बस्नेहरू पनि छन् । त्यस्तै ३० वर्षदेखि अमेरिका बस्दै आएका तर, पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् ।
अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् ।
ब्युरोले दिएको जानकारीअनुसार पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । यसअघि भदौ १९ गते अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गरेको थियो । त्यसअघि गत जेठ २५ गते पनि अमेरिकाले ३७ जनालाई नै डिपोर्ट गरी नेपाल पठाएको थियो ।