काठमाडौँ । अमेरिकाले ग्रीनकार्ड लटरी डी.भी. योजना स्थगित गरेको छ ।
ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो लटरी योजना स्थगित गरेको बताइएको हो ।
ब्राउन युनिभर्सिटी घटनाका शङ्कास्पद ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डी.भी.) मार्फत् अमेरिका प्रवेश गरी ग्रीनकार्ड पाएका थिए ।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन् । अब कुनै पनि अमेरिकीलाई हानी नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
अमेरिकी अधिकारीका अनुसार नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको विश्वास गरिएको छ ।
यो कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकमध्येबाट चिठ्ठा प्रणालीमार्फत् प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ । नेपाली पनि डी.भी. परेर अमेरिका जाने र ग्रिनकार्ड पाएर बस्ने गरेका छन् ।