कञ्चनपुर । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं २ बैजुडाडास्थित नेपाल भारत २०७ नं सीमा स्तम्भ ढलेको छ । लमो समयदेखि बांगिएर जिर्ण बनेको सीमास्तम्भ आज ढलेको स्थानीय बासिन्दाले बताएका छन् ।
सीमास्तम्भको छेउमै रहेको सिमलको रुखका कारण वर्षौदेखि सो स्तम्भ बांगिएको थियो । नेपाल भारतको सहमति अनुसार जोर नम्बरको सीमास्तम्भ भारतले र विजोर नम्बरको नेपालले मर्मत गर्नुपर्ने प्रावधान छ । तर, नेपली सीमा सर्वे टोलीको वेवस्ताका कारण सीमास्तम्भ मर्मत गरिएको थिएन ।
कञ्चनपुरसहित देशका विभिन्न भागमा भारतीय पक्षले जिर्ण रहेका सीमास्तम्भ गायब पार्ने र नेपाली भूमि अतिक्रमण गरी नक्कली पिल्लर खडा गर्ने गरिरहेको छ । ढलेको सो स्तम्भ पनि तत्काल मर्मत नगरिए भारतले रातारात नक्कली पिल्लर खडा नगर्ला भन्न सकिँदैन ।
हालै मात्रै भारतीय पक्षले बेलौरी नगरपालिका वडा नं ८ पचुइमा हुलाकी सडक निर्माणमा अवरोध पुर्याएको थियो । सीमा क्षेत्रमा भारतीय दादागिरीका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दा वर्षौंदेखि आक्रान्त छन् ।