बागलुङबजार । बागलुङमा अखिल नेपाल जनजाति सम्मेलन पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यमा २०८२ कात्तिक २१ गते शुक्रबार गल्कोटको हटियाबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले अहिले देश विषम परिस्थितिबाझ गुज्रिरहेको बताउनुभयो ।
‘यस्तो हुनुमा ठुला राजनीतिक पार्टी जिम्मेवार छन्, विशेष गरी केपी ओली सरकारको कुशासनको परिणाम यसका लागि जिम्मेवार छ’ उहाँले भन्नुभयो ।
जेनजीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र चरम भ्रष्टाचारको विरुद्ध सुशासन हुनुपर्यो भनेर भदौ २३ गते शान्तिपूर्ण आन्दोलन गरेको बताउँदै उहाँले त्यसमाथि गोली हानी आन्दोलनकारीको हत्या गरिएकाले त्यसको परिणामस्वरू जटिल परिस्थिति सिर्जना भएको दाबी उहाँले गर्नुभयो ।
उहाँले यो परिस्थितिलाई अमेरिकी साम्राज्यवाद र त्यसका अन्य देशीविदेशी शक्तिले उपयोग गर्न खोजेको बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले यो अन्तरिम सरकारलाई संविधानले नचिन्ने बताउनुभयो ।
‘यदि फागुन २१ चुनाव भएमा राजमोे दलले एक्लै चुनाव उपयोग गर्नेछ’ उहाँले भन्नुभयो– ‘राष्ट्र, राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि राजमोको अभियान निरन्तर चल्नेछ ।’
अहिले कम्युनिस्टको नाममा कुनै सिद्धान्तविना एकताको नाममा पदलोलुपता र सत्तामा पुग्ने मात्र खेल चलिरहेको बताउँदै उहाँले नेपाल र नेपाली जनताका निम्ति सधैँ शोषितपीडित र निमुखा जनतामाथि लादिएको कुशासन विरुद्ध आन्दोलन गर्न आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा र जिल्ला सल्लाहकार टङ्क केसी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजाले पनि सन्देशसभामा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो बागलुङका जिल्ला सदस्यहरू पदम श्रेष्ठ, खड्क विक र लालबहादुर राना, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय प्रतिनिधि टिकाराम कँडेल, रक्तिम बागलुङका सचिव कुलबहादुर छन्त्याल, जिल्ला सदस्य सबराज छन्त्याल, जातीय समता समाज बागलुङका जिल्ला सदस्य रणबहादुर विकलगायतको आतिथ्य रहेको थियो ।
जनजाति सम्मेलन बागलुङका अध्यक्ष तमबहादुर घर्तीको अध्यक्षता, जिल्ला सदस्य भक्तिराम पुनको स्वागत र जिल्ला सचिव तुलवीर श्रीसको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।

