काठमाडौँ । नेकपा (मसाल) ले हालै नेपालका विभिन्न वामपन्थी समूहमाझको विभाजन, एकीकरण र पुनर्विभाजन सिद्धान्तहीन प्रकृतिको भएको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ कात्तिक २० गते बिहीबार जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।
मसालले आगामी चुनावका लागि शक्तिसञ्चयका लागि यी एकता, विभाजन र पुनर्विभाजन भएकोसमेत बताएको छ ।
देशको तात्कालिक राजनीतिक परिस्थितिमा लोकतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकतासमेतको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताबद्धताको आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढेर गएको बताउँदै मसालले त्यस दिशामा हाल एकता प्रक्रियामा रहेका दलसित सहकार्य गर्न सकिने बताएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेपालका विभिन्न कम्युनिस्ट समूह वा वामपन्थी गु्रपको बिचमा तीव्र बनेको विभाजन, एकीकरण वा पुनर्विभाजनसमेतको प्रक्रियाप्रति नेकपा (मसाल) को दृष्टिकोण र व्याख्या प्रस्तुत गर्नका लागि यो वक्तव्य जारी गरिएको छ । त्यस सन्दर्भमा प्रधान महŒवको कुरा त यो हो कि त्यो सम्पूर्ण प्रक्रिया कैयौँ सिद्धान्त, नीति वा कम्युनिस्ट रूपान्तरणका लागि भइरहेको छैन । त्यो प्रक्रिया पारस्परिक अन्तरविरोध वा आगामी चुनावका लागि शक्तिसञ्चयका लागि नै भइरहेको छ । त्यसकारण सैद्धान्तिक र राजनीतिक दृष्टिकोणले त्यसको कुनै महŒव नभएको कुरा प्रष्ट छ ।
यस सन्दर्भमा अर्काे महत्त्वपूर्ण कुरा ता यो छ कि हालै देशमा भएको जेनजी आन्दोलन र त्यसले ल्याएको उभारलाई आधार बनाएर चुनाव जित्ने दृष्टिकोणले पनि उनीहरूमा सबैभन्दा बढी काम गरेको पाइन्छ । त्यो पनि हद दर्जाको अवसरवादी विचार हो । जेनजी आन्दोलन प्रथमत: कुनै सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन वा नेतृत्वमाथि आधारित कुनै आन्दोलन होइन । त्यो बाहेक त्यो कैयौँ गु्रपमा बाँडिएको छ र त्यसको कुनै एकीकृत स्वरूप पनि छैन । त्यो अवस्थामा त्यसले दिशाहीन र अराजक रूप लिने नै बढी सम्भावना छ । त्यो अवस्थामा जेनजीको डुङ्गामा चढेर सत्ता प्राप्त गर्ने उनीहरूको प्रयत्न कहाँसम्म सफल हुनेछ ? त्यो कुरा कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।
अहिलेको विभाजन, एकीकरण वा पुनर्विभाजनको केन्द्रमा प्रचण्ड नै देखिन्छन् । नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिको इतिहासबाट यो कुरा छर्लङ्ग भइसकेको छ कि उनी नेपालको सबैभन्दा सिद्धान्तहीन र अवसरवादी व्यक्ति हुन् । त्यसकारण उनको नेतृत्वमा हुन थालिरहेको एकीकरण एउटा अर्थहीन दुष्प्रयास मात्र हो, इतिहासले त्यो कुरा सावित गर्नेछ ।
निश्चय नै देशमा सही माक्र्सवादी–लेनिनवादी दर्शन, सिद्धान्त, कार्यक्रम वा सङ्गठन प्रणालीको आधारमा देशमा कम्युनिस्टको एकीकरण र शक्तिशाली कम्युनिस्ट आन्दोलनको आवश्यकता छ तर तत्काल त्यस प्रकारको कुनै सम्भावना देखिँदैन तैपनि भविष्यमा त्यस प्रकारको स्वस्थ प्रयत्न भएमा त्यसमा बढीभन्दा बढी सहयोग गर्ने नेकपा (मसाल) को प्रयत्न हुनेछ ।
माथि लेखिएको कुरा जे भए पनि आज देशमा एकातिर जनआन्दोलनका महान उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्थाको रक्षा र अर्कातिर, राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि वामपन्थी र लोकतान्त्रिक शक्ति तथा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्ने ऐतिहासिक आवश्यकता छ । जेनजी आन्दोलनले पनि जो स्वयम् कुनै सिद्धान्तनिष्ठ र एकताबद्ध आन्दोलन होइन—ले पनि उक्त दिशामा कुनै योगदान दिएको छैन र त्यसबारे बढी समस्या अराजकता र अनिश्चितताको नै स्थिति उत्पन्न गरेको छ । त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि उनीहरूको असङ्गठित र कैयौँ गु्रपमा विभाजित जनमतलाई आफ्ना निजी स्वार्थका पक्षमा उपयोग गर्न कैयौँ विदेशी साम्राज्यवादी शक्ति, देशभित्रका प्रतिगामी शक्ति वा देशभित्रका विभिन्न अवसरवादी राजनीतिक शक्तिका बिचमा एक प्रकारको होडबाजी नै चलेको छ । त्यस पनि देशको राजनीतिलाई अरू अस्थिर बनाएको छ । त्यो अवस्थामा देशमा लोकतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकतासमेतको सुरक्षाको लागि वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताबद्धताको आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ । नेकपा (मसाल) ले सही समझदारीका आधारमा त्यो दिशामा आफ्नो प्रयत्नलाई जारी राखिरहनेछ र आफ्ना तर्फबाट पनि सम्भव भएसम्म बढीभन्दा बढी योगदान दिने प्रयत्न गरिरहनेछ ।
माथि देशका कतिपय कम्युनिस्ट समूह र वामपन्थी गु्रपका बिचमा चलिरहेको विभाजन वा एकीकरणको प्रक्रियाबारे केही उल्लेख गरियो । उनीहरूको त्यो प्रक्रिया कम्युनिस्ट रूपान्तरणको लागि नभएको र त्यसको प्रकृति मूल रूपमा सिद्धान्तहीन र अवसरवादी भएको कुरामा कुनै शङ्का छैन तैपनि ती सबै गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्था तथा देशको राष्ट्रियता वा सार्वभौमिकताका पक्षमा सङ्घर्षको इतिहास भएका शक्ति नै हुन् भन्ने हाम्रो धारणा छ । त्यसैले हामीले उनीहरूसित देशमा बढिरहेको प्रतिगमनको खतरा तथा बढ्दो विदेशी हस्तक्षेप वा अतिक्रमणका विरुद्ध अगाडि आउनका लागि उनीहरूको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ ।”