काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत नौ दलबिचको एकता प्रक्रियाबाट कात्तिक २० गते ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन हुने भएको छ ।
माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक पुष्पकमल दाहालले पार्टीको नामबारे जानकारी दिएका हुन् ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्नबारे जानकारी दिएका थिए । ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ’ उनले भने ।
‘समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न तथा राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणका लागि बृहत् कम्युनिस्ट एकीकरण आवश्यक छ’ भन्ने निर्णय पार्टीले गरेको उनको भनाइ थियो ।
नवगठित पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यदिशा मानिने बताइएको छ ।
पार्टीले जनवादी उपलब्धिको रक्षा गर्दै समाजवादको आधार तयार गर्ने निर्णय पनि भएको उनले बताए ।
सापकोटाका अनुसार उनीहरूले सञ्चालन गर्ने आन्दोलन मूलत: शान्तिपूर्ण हुनेछ तर परिस्थितिअनुसार सदन, सरकार र सडकसहित सबै मोर्चामा सङ्घर्ष सञ्चालन गर्न सकिनेछ ।’
एकतामा संलग्न सबै दलका केन्द्रीय कमिटीको संयुक्त भेलाले कात्तिक १९ गते पार्टी एकीकरण घोषणा गर्ने र सोही सम्मेलनले पार्टीको अन्तरिम विधान तथा केन्द्रीय समिति गठन गर्ने उनले जानकारी दिए ।
नयाँ पार्टीको राष्ट्रिय महाधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै, संरचनात्मक रूपमा पार्टीका सबै तहमा संयोजक र सहसंयोजक पद मात्र रहनेछन् भने पार्टीको संरचनाअन्तर्गत केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्यसञ्चालन समिति रहने निर्णय भएको उनले जानकारी दिए ।