काठमाडौं । राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला उपाध्यक्ष धर्म कुँवरकी पत्नी दुरपती कुँवरको उपचारका लागि सहयोगको अपील गरेको छ । बागलुङका ढोरपाटन नगरपालिका–५ अधिकारीचौर निवासी ६६ वर्षीया कुँवर पित्तथैलीको क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष एवं राजमो बागलुङका नेता तिलक थापाले कुँवर परिवारको कमजोर आर्थिक अवस्था तथा उपचारमा धेरै नै खर्च हुने अवस्थाका कारण सहयोगका लागि अपील गरिएको बताउनुभयो । थापाका अनुसार राजमो बागलुङले आर्थिक संकलन पनि सुरु गरेको छ । हालसम्म ५० हजार रुपैयाँ जुटेको र थप रकम संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।
सहयोगका लागि जिल्ला सचिव भिमलाल पोखरेलको सम्पर्क नंं. ९८५७६२५५२५ मा सम्पर्क गर्न वा राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको नेपाल बैंक लिमिटेड बागलुङमा रहेको खाता नं ०२२–००१०–०४१०६६७–०००००१ मा रकम जम्मा गरिदिन राजमो बागलुङले आग्रह गरेको छ ।
लामो समयदेखि राजमो बागलुङको कार्यालयमा रहेर पार्टी काममा सक्रिय दुरपती क्यान्सरसँगै जण्डिस र सुगरसँग जुधिरहनुभएको छ । जेठ महिनामा उहाँको पेट दुखेपछि स्थानीय मेडिकलमा चेकजाँच गराउनुभएको थियो । त्यहाँबाट धौलागिरी अस्पताल हुँदै ९ दिन पोखराको मणिपाल मेडिकल कलेज र १० दिन काठमाडौंको टिचिङ अस्पतालमा उपचार पछि क्यान्सर भएको पत्ता लागेको हो ।
नेता धर्म कुँवरका अनुसार चिकित्सकले क्यान्सरको अप्रेसन गर्नुअघि ३/४ पटक रेडियो थेरापी गर्नुपर्ने र किमो चढाउनुपर्ने बताएका छन् । उहाँको उपचारमा कम्तिमा पाँच लाख रुपैयाँ लाग्ने चिकितसकले बताएका छन् ।