काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका खगेन्द्र सुनार मुद्दैमुद्दाको चाङमाथि रहेकाले विवादमा तानिएका छन्। उनी महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत र टिप्पणी दिएका कारण अहिले आलोचनाको केन्द्रमा छन् ।
स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत सुनारमाथि परेको छ ।
सुनार मन्त्री बन्ने चर्चाबिच सुर्खेत जिल्ला अदालतबाट सुनारविरुद्ध जारी भएको पक्राउ पुर्जी भाइरल भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए ।
अदालतले २०८१ असार १४ गते दायर भएको मुद्दामा सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो ।
यसरी विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको भन्दै सामाजिक सञ्जालमा पनि उनको नामलाई लिएर चर्को विरोध भइरहेको छ ।
समाजशास्त्री निर्मला ढकालले एक्समा लेखेकि छिन्, ‘यस्तोलाई मन्त्री भन्दै हाम्रो करको पैसा खेर फाल्न पर्ने हो हामीले ? कुनै महिलालाई यतीसम्म गर्न सक्ने लम्पटलाई झेल्न पर्ने हो ?’

