काठमाडौँ । सरकारले ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।
२०८२ असोज ३० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सरकारको प्रवक्तासमेत रहनुभएका सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, बेलायतलगायतका राजदूत छन् । उनीहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्किन भनिएको छ ।
फिर्ता बोलाइएकामा चीनका लागि नेपाली राजदूत प्राडा कृष्णप्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेती, इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डित छन् ।
त्यस्तै मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी रहेका छन् ।