काठमाडौँ । प्रतिनिधि सभा पुनःस्थापनाको एजेन्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली अघि बढेपछि पार्टीभित्र गम्भीर मतभेद देखिएको छ । ओलीले संसद् पुनःस्थापनाको प्रस्ताव सार्वजनिक रूपमा उठाएसँगै सचिवालयभित्र दुई धार स्पष्ट बनेको बुझिएको छ । ओली पक्षले संसद् पुनःस्थापनाको पक्षमा दृढ रहेता पनि इतर समूह चुनावको पक्षमा उभिएको छ ।
ओली निवास गुण्डुमा ५८औँ सचिवालय बैठकमा ओलीले संसद् पुनःस्थापनाको एजेण्डा प्रस्तुत गरेका छन् । दुई दिनसम्म चल्ने बैठकमा उक्त प्रस्ताव पारित गराउने ओलीको प्रयास हुने बताइन्छ, तर सचिवालयभित्र बहुमत सदस्यहरू उक्त एजेन्डाको विरोधमा रहेको बुझिएको छ ।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट लगायत नेताहरू चुनावमार्फत जनादेशमा जाने पक्षमा छन् । उनीहरूका अनुसार संसद् पुनःस्थापनाको एजेन्डा असान्दर्भिक भइसकेको छ र मुलुकलाई स्थायित्वमा लैजान अब निर्वाचन नै एकमात्र बाटो हो । यदि सचिवालयमा बहुमत ओली पक्षले ल्याउन सकेन भने उनीहरूले ‘नोट अफ डिसेन्ट’ लेख्ने रणनीति तयार पारेको बुझिएको छ ।
उता, ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल र विष्णु रिमाल रहेका छन् । यी नेताहरू ओलीको संसद् पुनःस्थापनाको प्रस्तावलाई समर्थन गर्दै मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आवश्यकताको पक्षमा तर्क गर्दै आएका छन् ।
यस्तै सचिवालय बैठकमा पार्टी पुनर्गठनको विषय पनि जोडका साथ उठ्ने संकेत छ । केही नेताहरूले ओलीलाई ‘स्टेप डाउन’ गर्न माग गर्ने तयारी गरेको बताइएको छ । उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट लगायत नेताहरूले ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने तर्क अघि सार्ने सम्भावना छ ।