काठमाडौँ । यदि ‘हामी नेपाल’ गैरसरकारी संस्था (एनजिओ) का प्रमुख सुदन गुरुङलाई जेनजी मान्ने हो भने उनीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएको मान्नुपर्ने हुन्छ ।
२०८२ असोज २१ गते मङ्गलबार गुरुङ पक्षधर जेनजीले सार्वजनिक गरेको संयुक्त प्रेसवक्तव्यमा सो तथ्य उल्लेख गरिएको हो ।
वक्तव्यमा जेनजी आन्दोलनको कारणबारे भनिएको छ– “सङ्घीय गणतन्त्रको मूल लक्ष्य विपरीत लोकतन्त्रको नाममा दलीय लुटतन्त्रले सृजना गरेको कुशासन विरुद्ध जेनजी विद्रोह भएको हो ।”
अबको राजनीतिक कोर्स जेनजीसहित अगाडि जानुपर्ने बताउँदै वक्तव्यमा सरकारलाई जेनजी विद्रोहको म्यान्डेट विरुद्ध नजान सरकारलाई चेतावनी दिइएको छ ।
मुलुकको रूपान्तरणको ऐतिहासिक जिम्मेवारी आफूहरूले नै लिनुपर्ने दाबी गर्दै वक्तव्यमा अगाडि भनिएको छ– “सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुने कुनै पनि योजनाबद्ध प्रहारको हामी दृढतापूर्वक सामना गर्नेछौँ ।”
यदि यो अभिव्यक्तिमा व्यक्त विचारमा जेनजी कायम रहन्छ भने वर्तमान व्यवस्थामा आमूल परिवर्तन नहुने, खालि नेता मात्रै फेरिने अर्थ लगाउन सकिन्छ ।
“हामी जेनजी पुस्ताले विधिको शासन र जवाफदेही व्यवस्थालाई नै सबल बनाउने हो” वक्तव्यमा अगाडि भनिएको छ– “हाम्रो विद्रोह समावेशी लोकतन्त्रलाई थप उन्नत र बलियो बनाउँदै देशको अवस्था रूपान्तरण गर्नका लागि भएको हो ।”
यस प्रकार वक्तव्यमा समावेशी लोकतन्त्रलाई उन्नत गराउने त भनिएकै छ, त्यसका साथै उनीहरू सङ्घीयताको पनि विरोधी नभएको स्पष्टत: देखिन्छ ।
वक्तव्यमा अगाडि भनिएको छ– “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउँदै देशमा विद्यमान विभेद र असमानतालाई सम्बोधन गर्नु साझा दायित्व हो ।”
जे होस्, जेनजी वर्तमान व्यवस्था विरोधी नभएको, खालि ठुला दलका नेता विरोधी मात्रै भएको देखिन्छ ।
संयुक्त वक्तव्यमा कोशी प्रदेशबाट संयोजक र सहसंयोजकको तथा अन्य छओटा प्रदेशबाट संयोजकको हस्ताक्षर छ ।
कोशी प्रदेशलाई “प्रदेश नं. १” लेखिएको छ । त्यसको अर्थ उनीहरूले कोशी प्रदेशको नामकरणलाई अस्वीकार गरेका हुन् वा पूर्वका जातिवादी विचारको प्रभाव परेको हो ?
