वीरेन्द्रनगर । सुर्खेतको लेकबेसी नगरपालिका लेकफर्सामा राष्ट्रिय जनमोर्चाको नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८२ असोज २१ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै शर्माले राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार र बेथितीका विरुद्ध तथा सङ्घीयता खारेजीका लागि सदनदेखि सडकसम्म सङ्घर्षका कार्यक्रम सञ्चालन गरेको स्मरण गर्नुभयो ।
राजमोको सङ्घर्षबाट सत्तासिनको घैँटोमा घाम नलागेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘तर आज देशीविदेशी प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिको घुसपैठले देश खरानी भएको छ ।’
उहाँले देश र जनताको पक्षमा राजमोले सचेत आन्दोलन चलाउँदै आइरहेको र आगामी दिनमा पनि यो आन्दोलन यथावत् रहने घोषणा गर्नुभयो ।
सो अवसरमा राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही, नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता मोहन थापा, राजमो सुर्खेतका उपाध्यक्ष भूपेन्द्र नेपाली, जिल्ला सदस्यद्वय नरबहादुर फौजा र प्रेमबहादुर ठाडाले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो लेकबेसी नगर कमिटीका अध्यक्ष धनबहादुर पुनको अध्यक्षता, नगर सचिव प्रेम ज्ञामीको सञ्चालन र कर्णबहादुर ठाडाको स्वागत मन्तव्य रहेको थियो ।

