काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बाढीपहिरोपीडितको उद्धार, प्रतिकार्य, राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ असोज २१ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको हो ।
वक्तव्यमा बाढीपहिरोबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली तथा क्षति पुगेका जनताप्रति समवेदना व्यक्त गरिएको छ ।
हाल देशमा आइपरेको वर्षाजन्य बिपद्को कारण जलवायु परिवर्तन भएको बताउँदै वक्तव्यमा तात्कालिक रूपमा क्षतिसित सम्बन्धित विशेष कदम सरकारको ध्यानाकर्षण गराइएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“देशमा भारी वर्षाका कारणले जनधनमा गम्भीर क्षति पुगेकोमा राष्ट्रिय जनमोर्चाले गहिरो दु:ख प्रकट गर्दछ । बाढीपहिरोका कारणले मृत्यु भएका सबै व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त बाढीपहिरोबाट क्षति पुगेका सम्पूर्ण जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछ । त्यसका साथै बाढीपहिरोबाट पुगेको क्षतिमा राहत र क्षतिपूर्ति, उद्धार र प्रतिकार्यका लागि शीघ्र कदम उठाउनका लागि सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।
संसारमा जलवायु परिवर्तनको जुन गम्भीर समस्या बढ्दै गइरहेको छ, त्यसबाट विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामीजस्ता गम्भीर समस्या देखा पर्दै गइरहेका छन् । अहिले नेपालमा देखा परेको अतिवृष्टि पनि विश्वव्यापी रूपमा देखा परेको त्यही प्रकारको जलवायु परिवर्तनको परिणाम हो । त्यसकारण तात्कालिक रूपमा अहिले नेपालमा भारी वर्षाका कारणले पुगेको क्षतिप्रति विशेष कदम उठाउन सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”