तौलिहवा । कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिकाको वडा नं. ७ झुलानियमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ असोज २० गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै अदैले जेनजी आन्दोलन, तात्कालिक राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा उहाँले राजमोको राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ नारा नै अबको राजनीतिक निकास भएको विचार व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले चाडपर्वलाई खर्चिलो र भड्किलो तरिकाले नमनाउन आग्रह गर्दै बडादसैँ, तिहार, नेपाल संवत् ११४६, छठपर्वलगायतको शुभकामना व्यक्त गर्नुभयो ।
राजमो विजयनगर वडा नं. ७ का अध्यक्ष रामसमारे धोबीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राजमो कपिलवस्तुका जिल्ला सदस्य त्रिवेणी कुर्मी, राजमो विजयनगर गाउँसमितिका अध्यक्ष गोविन्द परिवार र सदस्य सूर्यबहादुर जिसीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो कपिलवस्तुका जिल्ला सदस्य नागराज योगीले गर्नुभएको थियो ।
