काठमाडौँ । हिजो भरखरसम्म ‘म राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री हुँ’ भन्दै सर्वोच्चको ढोका ढकढकाएका डा. मुकुल ढकाल यतिवेला सोही पार्टीका सदस्य हुन् कि अरु कुनै ? आम सर्वसाधरण अल्लमल्ल छन् । ढकालको सामाजिक सञ्जालमा देखिएको पछिल्लो गतिविधिलाई हेर्दा उनी ‘रास्वपा’ नभएर ‘राजावादी’ कित्तामा देखिन्छन् ।
जेन–जी आन्दोलनयताका दिनमा ढकालका अभिव्यक्तिमा प्रस्टै राजावादी लाइनमा देखिदै आएको छ । ढकालले भदौ २४ गते महेन्द्र शाहको कविता सेयर गरेका छन् ।

त्यसको दोस्रो दिन, ‘राष्ट्र जोगाउन राजाबाहेकको विकल्प नरहेको’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।
भदौ २६ गते फेरि अर्को स्टाटस राखेर उनले ‘प्रजातन्त्र मर्दैन, ढुक्क हुनुहोस् । जे जे हुनेवाला छ, राष्ट्र जोगाउनलाई हुनेछ । उचित समयमा निर्वाचनको माध्यमबाट जनताले छानेको प्रधानमन्त्रीले नै शासन व्यवस्था चलाउनेछन्’, भनेर लेखेका छन् ।

भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्दाको दिन पनि ढकालले फेरि रास्वपाको ‘जान्नेलाई छान्ने’ नारालाई उल्लेख गरेर ‘राष्ट्रपति भन्दा राजा नै जान्ने’ भन्ने आशयका स्टाटस लेखेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमा सुमोना श्रेष्ठले निर्दलीय सरकारलाई समर्थन गर्ने भन्दै रास्वपाबाट खुट्टा झिकि सकेकी छिन् भने तोसीमा कार्कीले पनि खुट्टा उचाल्न खोजेको देखिन्छ । त्यस्तै सो पार्टीका विभिन्न नेताहरूका सामाजिक सञ्जालमा देखिएको अभिव्यक्तिलाई हेर्दा चरम प्रकारको राजनीतिक अराजकतातर्फ गइरहेको इङ्कीत गरेको बुझिन्छ ।