काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् । राष्ट्रपति पौडेलद्वारा संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा सो धारणा उल्लेख छ ।
पौडेलले भनेका छन्– “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।”
राष्ट्रपतिले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आन्दोलनमा योगदान पुर्याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकलाई सम्मान प्रकट गरेका छन् ।
संविधानले हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण दिएको उल्लेख गरेका छन् । पौडेलले भनेका छन्– “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ” ।
