काठमाडौँ । आगामी २०८४ मा हुने संसदीय चुनावमा बहुमत ल्याउने अभिव्यक्ति दिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई धक्का लाग्न थालेको छ । आजै सुमन श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेसँगै सो पार्टीलाई ठूलो धक्का लागेको हो । श्रेष्ठ सो पार्टीको सहमहामन्त्री थिइन्।
केन्द्रीय सदस्यहरूको ग्रुपमा श्रेष्ठले पार्टी छोडेको बताएकी हुन् । सुमना लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट रहेको उनका निकटहरूले बताउँदै आएका थिए ।
श्रेष्ठले लेखेकी छिन् : “कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन ।
अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । (आई क्यूइट) मैले पार्टी छोडेँ ।”
सुमनाले अर्को पार्टी ज्वाइन गर्ने वा अहिले बनेको नयाँ सरकारमा मन्त्री बन्ने तयारी नरहेको निकट स्रोतको भनाई छ । उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो तर सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् ।
सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । उनी निवर्तमान सांसद हुन् । प्रचण्डको सरकारमा श्रेष्ठ शिक्षामन्त्री थिइन् ।