काठमाडौँ । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरे तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक निकासको सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने धारणा व्यक्त गर्नुभएको छ ।
२०८२ भदौ २७ गते शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरूले यस्तो अभिव्यक्त दिनुभएको हो ।
“यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ” वक्तव्यमा भनिएको छ– “आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ ।”
वक्तव्य मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको हो ।
त्यस्तै सङ्घीय संसद् भवन, संसद् सचिवालयलगायत विभिन्न सरकारी, निजी कार्यालय, आवास, सञ्चारगृह, व्यापारिक तथा सार्वजनिक सम्पत्ति तथा दस्तावेजमा तोडफोड तथा आगजनीको आफूहरू मर्माहट भएको उहाँहरूको भनाइ छ ।
