काठमाडौँ । छ महिला सङ्गठनले अहिलेको राजनीतिक समस्याको समाधान संवैधानिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासबाट खोज्न सम्बन्धित पक्षसित आग्रह गरेको छ ।
२०८२ भदौ २६ गते बिहीबार जारी संयुक्त प्रेसविज्ञप्ति गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा देशीविदेशी प्रतिक्रियावादी शक्तिले गर्न सक्ने सम्भावित षड्यन्त्रप्रति पनि सजग र सतर्क हुन सम्पूर्ण देशभक्त तथा लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिलाई आग्रह गरिएको छ ।
जेनजीको आन्दोलनकै क्रममा विभिन्न संवैधानिक निकायका भौतिक संरचना ध्वस्त हुनुले देश कता जाँदैछ भन्ने चिन्ता बढेको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा यस अकल्पनीय परिस्थितिमा धैर्यधारण गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
त्यस्तै विषम परिस्थितिको असामाजिक तत्त्वहरूले गलत फाइदा उठाउन सक्ने भन्दै त्यसलाई रोक्न पनि महिला सङ्गठनले अनुरोध गरेका छन् ।
विज्ञप्तिमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्र, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुका हमाल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की इन्चार्ज अमृता थापा, अनेमसङ्घ (समाजवादी) की अध्यक्ष मुनु सिग्देल र अनेमसङ्घ (क्रानितकारी) की अध्यक्ष बन्धु चन्दको हस्ताक्षर रहेको छ ।
