काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल गरिरहेका युवाहरूबिच काठमाडौँको सुन्धाराअगाडि युवाबिच झडप भएको छ ।
जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै २०८२ भदौ २६ गते बिहीबार जम्मा भएका युवाबिच हानाहान भएको हो ।
नेपाली सेनाले कमान्ड हातमा लिएर युवासँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहँदा यो स्थिति निर्माण भएको देखिन्छ ।
बुधबार जङ्गीअड्डा गेटमा माइकिङ गरेर नेपाली सेनाले आफ्नो समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । सोही कारण युवाहरूको फरक फरक समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुग्दा कुरा नमिलेर टकरावको स्थिति पैदा भएको छ ।
अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाबिच विवाद भइरहेको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबिच बुधबार सैनिक मुख्यालय जङ्गीअड्डाअगाडि पनि विवाद भएको थियो ।
जङ्गीअड्डा परिसरअगाडि नेपाली सेनाले भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन् ।