काठमाडौँ । पाँच युवा सङ्गठनले अबको आगामी राजनीतिक यात्रा यसअघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनको संरक्षण गरेर तय गरिनुपर्ने धारणा राखेका छन् ।
२०८२ भदौ २६ गते बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सो माग गरेका हुन् ।
वक्तव्यमा जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना र सहानुभूति प्रकट गर्दै दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्त्वले विश्वंस, तोडफोड, हिंसा र लुटपाटका घटना घटाउने कार्य जारी रहेको बताउँदै वक्तव्यमा यसप्रति प्रशासनको ध्यान जानुपर्ने तथा घटना नियन्त्रणका लागि टोलटोलमा सुरक्षा समिति गठन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
अहिले मुलुकमा देखा परेको विषम परिस्थितिबारे सजग हुन युवाहरूलाई आग्रह गर्दै गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि दृढ र क्रियाशील हुन विज्ञप्तिमा आग्रह गरिएको छ ।
विज्ञप्तिमा अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, वाइसिएलका अध्यक्ष पुष्प ओली र युवा सङ्घ नेपालका अध्यक्ष रोशन थापाको हस्ताक्षर रहेको छ ।
