काठमाडौँ । जेनजी युवाको तर्फबाट पाँच बुँदे अनौपचारिक प्रस्ताव सामाजिक सञ्जालमा प्रस्तुत भएको छ ।
जेनजी युवा भनिएका रविकिरण हमालको तर्फबाट २०८२ भदौ २५ गते बुधबार सो प्रस्ताव सावजनिक भएको हो ।
वार्ताको आह्वान गरेका प्रधान सेनापतिको लागि भन्न्दै सो प्रस्ताव प्रस्तुत गरिएको छ । प्रस्तावमा अन्तरित्रम सरकार गठन, शान्ति र स्थायित्व, प्रतिनिधिसभा विघटन, संविधान संशोधन र नयाँ चुनावको माग गरिएको छ ।
उक्त अनौपचारिक प्रस्ताव जस्ताको तस्तै :
“नेपाल आज ऐतिहासिक मोडमा उभिएको छ । तीन दशक लामो भ्रष्टाचार, कुशासन र असफल नेतृत्वका कारण जनतामा गहिरो असन्तोष र निराशा व्याप्त छ । जेनजी पुस्ताले नेतृत्व गरेको जनआन्दोलन अब शान्ति, स्थायित्व र नयाँ राजनीतिक व्यवस्थाको माग गर्दै निर्णायक चरणमा प्रवेश गरेको छ ।
यस सन्दर्भमा राष्ट्रपति र नेपाली सेनाले गर्नुभएको वार्ताको आह्वानलाई हामी जेनजी पुस्ताले सकारात्मक रूपमा स्वागत गर्दछौँ । हामीले ल्याएका प्रस्तावहरू कुनै व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई सम्पूर्ण राष्ट्र र नयाँ पुस्ताको भविष्यलाई केन्द्रमा राखेर तयार पारिएका हुन् ।
मुख्य प्रस्ताव
१. अन्तरिम सरकार गठन
वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्छ । यो सरकार असफल पुराना दलको प्रभावभन्दा स्वतन्त्र रहनुपर्नेछ ।
२. शान्ति र स्थायित्व
सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता हुनेछ । सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गराइनेछ ।
३. प्रतिनिधिसभा विघटन
वर्तमान प्रतिनिधिसभा जनताबाट विश्वास गुमाइसकेको छ । त्यसैले तत्काल प्रभावबाट प्रतिनिधिसभा विघटन गरी राजनीतिक सङ्क्रमणलाई स्पष्ट बनाइनुपर्छ ।
४. संविधान संशोधन वा पुनर्लेखन
नयाँ पुस्ताको आकाङ्क्षा र जनताका वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने खालको संविधान पुनरावलोकन वा पूर्ण रूपमा पुनर्लेखन गरिनुपर्छ । यस प्रक्रियामा नागरिक, विशेषज्ञ र विशेष गरी युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ ।
५. नयाँ चुनाव
अन्तरिम अवधि सकिएपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित नयाँ चुनाव गरिनुपर्छ । यसले प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्वको स्थापना गर्नेछ ।
तत्काल गर्नुपर्ने काम
- विगत तीन दशकमा लुटिएको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गरिनेछ ।
- शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचओटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनर्गठन गरिनुपर्छ ।
- जेनजी पुस्ताको आन्दोलन क्रममा सहादत प्राप्त गर्ने सबैलाई आधिकारिक रूपमा “सहिद” घोषणा गरिनेछ ।
- सहिद परिवारलाई राष्ट्रका तर्फबाट सम्मान, अभिनन्दन तथा राहत उपलब्ध गराइनेछ ।
- बेरोजगारी, पलायन र सामाजिक अन्याय अन्त्य गर्न विशेष कार्यक्रम ल्याइनेछ ।
हामी जेनजी पुस्ताका तर्फबाट स्पष्ट सन्देश दिन चाहन्छौँ :
यो आन्दोलन कुनै दल वा व्यक्तिको लागि होइन, सम्पूर्ण पुस्ता र राष्ट्रको भविष्यका लागि हो । हामी शान्ति चाहन्छौँ तर त्यो शान्ति केवल नयाँ राजनीतिक व्यवस्थाको आधारमा मात्र सम्भव छ ।
राष्ट्रपति र नेपाली सेनाले हामीले प्रस्तुत गरेका प्रस्तावलाई सकारात्मक रूपमा व्यवहारमा उतार्नु हुने विश्वास हामी राख्छौँ ।”