काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका वडा नंं ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले विद्यालय परिसरमै रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बुधवार विहान विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडीटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पीसीआर रिपोर्ट आएको छैन । पीसीआर रिपोर्ट नआउँदासम्म शव नउठाइने गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारणथप एक जनाको मृत्यु भएको छ । कोरोनाबाट बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार ती महिला नेपालगन्ज मेडिकल कलेज जानुभन्दा अघि बैजनाथ गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको योगी मेडिकल हलमा पनि उपचारका लागि केही घण्टा बसेकी थिइन् । सञ्चो नभएपछि उनी नेपालगन्ज मेडिकल कलेज गएकी थिइन् ।