काठमाडौं । ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारी हत्याकाण्ड वडाअध्यक्षकै योजना र नेतृत्वमा भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।
घटना अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा घटना भएको निष्कर्षुससिहतको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अन्तराजातीय प्रेम सम्बन्धमा रहेका जाजरकोटका नवराज विक र चौरजहारी–८ सोतीका मल्ल थरकी युवतीबीच विवाहको विषयलाई लिएर जेठ १० गते नवराजसहित ६ युवाको हत्या गरी भेरी नदीमा शव फालिएको थियो ।
गृह सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा वडाध्यक्ष मल्लले ४ गाउँका मानिस भेला पारेर नवराज विकसहितको युवा समूहलाई ४ किलोमिटरसम्म लखेटेर मारेको उल्लेख छ ।
गृहको प्रतिवेदनमा भनिएको छ, ‘रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ का वडा अध्यक्षसमेत भएको व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भनेर टोप बहादुर मल्ल, मान बहादुर मल्ल, नेत्र बहादुर मल्लसहितका गाउँलेलाई फोन गरेर बोलाइ नियन्त्रणमा लिन उत्प्रेरित गरेको देखियो ।’
यस्तै, उनले गलत सूचना दिएर मानिस जम्मा पारेको प्रतिवेदनमा उल्लेख छ, ‘गोईरी औलकालाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको, गाउँ छिरेकालाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई अर्कोतिर पठाएको भेटियो। गाउँका मानिसलाई भेला गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुंगामुढा प्रहार गरी नवराज विकसमेत ६ जनाको ज्यानै लिनेसम्मको परिस्थिति सिर्जना गरी आफूसमेत उक्त कार्यमा संलग्न भएको देखिएको छ।’
पीडित परिवारलाई १० लाख राहत
सोतीमा हत्या गरिएका नवराज विकसहित ६ जनाको परिवारलाई सरकारले १० लाखका दरले राहत दिने तयारी गरेको छ । गृह मन्त्रालयले पीडित परिवारलाई राहत रकम उपलब्ध गराउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
यस्तै आक्रमणमा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरिएको छ। आफूले पठाएको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ।
यस्तो छ, गृहको प्रतिवेदनः


