काठमाडौं । पर्वतमा शनिबार राति गएको पहिरोमा परी ९ जना मध्ये ८ जनाको शव निकालिएको छ भने अझै एक जना बेपत्ता छन् । पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा स्थानीयको घर पहिरोले बगाएको हो । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका ९ जना पुरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आज दिउँसो १६ वर्षीय विवेक थापा, १५ वर्षीय सम्राट थापाको शव भेटिएको छ।
यसअघि पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी, आठ वर्षीया नातिनी विविशाको शव राति नै भेटिएको थियो । यस्तै, अर्की नातिनी दीपा थापाको शव आइतबार बिहान फेला परेको छ भने पहिरोमा हराएका कमला विक र उनी छोरी ७ वर्षीया प्रमिशा विकको शव पनि फेला परेको छ ।
धेरै वर्ष पहिले गाउँमाथि मोटरबाटो बनाउँदा फालिएको माटोसहितको पहिरो आउँदा यो विपत्ति आइलागेको हो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि सो स्थानमा पहिरो गएको हो ।
पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो।

