काठमाडौं । पर्वतमा शनिबार राति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा स्थानीयको घर पहिरोले बगाएको हो । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका ९ जना पुरिएका हुन् ।
पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी, आठ वर्षीया नातिनी विविशाको शव राति नै भेटिएको थियो । यस्तै, अर्की नातिनी दीपा थापाको शव आइतबार बिहान फेला परेको छ भने पहिरोमा हराएका कमला विक र उनी छोरी ७ वर्षीया प्रमिशा विकको शव पनि फेला परेको छ ।
पहिरोमा पुरिएर तीन जना अझै बेपत्ता छन् । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिउँदो भेटिने त कुनै सम्भावना नै छैन ।
धेरै वर्ष पहिले गाउँमाथि मोटरबाटो बनाउँदा फालिएको माटोसहितको पहिरो आउँदा यो विपत्ति आइलागेको हो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि सो स्थानमा पहिरो गएको हो ।
पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो।