काठमाडौं । इन्सेकले रुकुम पश्चिमको चौरजहारी घटनाका सम्बनधमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । जेठ १० गते चौरजहारीमा ६ जना युवाको ज्यान जाने गरी भएको जातीय हिंसाको घटनाबारे अध्ययन गरी इन्सेकले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
इन्सेकले चौरजहारी घटनाबारेको प्रतिवेदन संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याललाई सोमबार नै प्रतिवेदन बुझाएको छ ।
त्यस क्रममा आरोपितलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ ।
यस्ता छन्, प्रतिवेदनका निष्कर्षहरु
१) कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ ।
२) स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पु-याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
३) स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला प-यो ।
४) भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए ।
५) घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।
६) घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो। उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो ।

