मेघराज रिष्मेली, ओसाका ।
गल्कोट समाज जापान कान्साईले ओसाकामा नेपाल महोत्सव गर्ने भएको छ ।
ओसाकामा मे १२, २०२५ सोमबार पत्रकार सम्मेलन गर्दै समाजले सो कार्यक्रमबारे जानकारी गराएको हो ।
जुन महिनाको १४ र १५ शनिबार र आइतबारको दिन पारेर कान्साईमा नेपाल महोत्सव गर्ने भएको हो ।
नेपालको भेषभूषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यतासहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्त्व झल्किने गरी नेपाल महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘ओसाकामा भएका हालसम्मका महोत्सवभन्दा फरक र आकर्षक पनि बनाइनेछ । यो शुभकार्यमा सबैले साथ दिन अनुरोध गर्दछु ।’
नेपालको मौलिक रहनसहन तथा नेपाली जीवनशैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरी जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने, नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुऱ्याउने उदेश्यका साथ जापानको कान्साईमा पहिलोपटक ऐतिहासिक प्रथम नेपाल महोत्सव गर्ने निर्णय कार्यसमितिको प्रथम बैठकले निर्णय गरिसकेको र तदअनुरूप अगाडि बढेको संस्थाका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

महोत्सव सञ्चालनका लागि समाजले मूल आयोजक समितिसमेत गठन गरेको छ ।
समितिमा महोत्सव संरक्षण समन्वय संयोजक आत्माराम गैरे, महोत्सव सल्लाहकार समन्वय संयोजक भीम केसी, सूचना तथा प्रविधि समन्वय संयोजक सुमन सापकोटा, विभिन्न सङ्घसंस्था समन्वय संयोजक भीम काउचा, गल्कोट नगरपालिका समन्वय संयोजक शिबु थापा, ताराखोला गाउँपालिका समन्वय संयोजक भीम श्रीस, स्टल व्यवस्थान समन्वय संयोजक दिलिप कँडेल, महिला आर्थिक समन्वय संयोजक ज्योति सापकोटा आचार्य तथा स्वयम्सेवक तथा सुरक्षा समन्वय संयोजक मनबहादुर सलामी रहनु भएको छ ।

त्यसैगरी, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा महोत्सव संयोजक रहनुभएको छ भने कार्यक्रम संयोजक तथा संरक्षक सुमित खत्री, आर्थिक संयोजक गौरी सापकोटा, सांस्कृतिक संयोजक कुलबीर थापा र महोत्सव सदस्य सचिव भूवन सापकोटा रहनुभएको छ ।
पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली सङ्घ जापानका उपाध्यक्ष कृष्ण गैरे, समाजसेवी तुल्सीराम खरेल र आत्माराम गैरेले महोत्सव सञ्चालनबारे आफ्नो धारणा राख्नुभएको थियो ।
