काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।