काठमाडौँ । जातीय समता समाजले रुकुम पश्चिमको चौरजहारी र गुल्मीको जातीय भेदभावसित सम्बन्धित घटनामा कानुनी कारबाही गर्न माग गरेको छ । २०७७ जेष्ठ १५ गते अध्यक्ष दिलबहादुर विकको हस्ताक्षरमा जारी प्रेसवक्तव्य मार्फत् समता समाजले सो माग गरेको हो ।
वक्तव्यमा आजको एक्काइसौँ शताब्दी र स्वयम् नेपालको संविधान तथा ऐनकानुनले जातीय भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था गरेकोमा चौरजहारी र गुल्मी घटना घट्नु दुःख र क्षोभको कारण बताउँदै मृतकप्रति श्रद्धाञ्जली, बेपत्ताको खोजी तथा दोषीउपर कानुनी कारबाही गर्न माग गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
“२०७७ जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी घटनाबाट जातीय समता समाज स्तब्ध भएको छ । एकातिर, आजको एक्काइसौँ शताब्दीमा पनि जातीय भेदभाव कायमै रहनु; अर्कातिर, स्वयम् नेपाल छुवाछूतमुक्त मुलुक घोषणा भई त्यससम्बन्धी संविधान र ऐनकानुनमा समेत स्पष्ट व्यवस्था भइसक्दा पनि चौरजहारीजस्तो दुःखद घटना घट्नु अत्यन्तै दुःख र क्षोभको विषय हो । हामी उक्त घटनाको निस्पक्ष छानबिन गरी दोषीउपर कानुनअनुसार कारबाही गर्न माग गर्दछौँ । त्यसका साथै घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको शीघ्र खोजीका लागि पनि प्रशासनसित अपिल गर्दछौँ ।
त्यस्तै, केही दिनअघि गुल्मीमा मलामी गएर फर्कने क्रममा हावाहुरी आउँदा कथित उच्चजातिको घरमा पसेको भन्दै सम्बन्धित दलित युवकलाई १,५०० रुपियाँ जरिवाना गरिएको घटनाको पनि जातीय समता समाज घोर निन्दा एवम् भत्र्सना गर्दछ । यस घटनामा पनि हामी दोषीउपर कारबाही गर्न माग गर्दछौँ ।
देश एक्काइसौँ शताब्दीको गणतन्त्रमा सहवरण गरिरहेका बेला देशैभरि यीलगायत जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घट्नु दुःखद छन् । यसले नेपाली समाज अहिले पनि रूढीवादी र पिछडिएको मानसिकतामा रहेको थाहा हुन्छ । यस्तो अवस्थामा एकातिर समाजको प्रगतिशील रूपान्तरणका लागि जनचेतना प्रसारण र अर्कातिर, विद्यमान ऐनकानुन र नियमावलीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ ध्यान दिन हामी सरकार, स्थानीय प्रशासन तथा सम्पूर्ण प्रगतिशील राजनीतिक पार्टी, सङ्घसंस्था र आम जनतासमेतसित अपिल गर्दछौँ ।”

